काठमाडौं । भारतीय जनता पार्टी( भाजपा)नेता हर्षबर्द्धनले एकै मञ्चमा नेपालका अनेक राजनीतिक नेता र पूर्व प्रधानमन्त्रीलाई देख्न पाउँदा खुसी लागेको बताएका छन्।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘मेरो राजनीतिक जीवनमा यति धेरै पूर्व प्रधानमन्त्री एकै मञ्चमा देखेको थिइनँ’, उनले भने, ‘तपाईंहलाई यसरी एकै ठाउँमा देख्दा मलाई औधि खुसी लागेको छ।’
काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए । केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।
नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे । त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे । ‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो,’ उनले भने । त्यो बीचमा भारतका प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीबीच दुईपटक भेट भएको धारणा राखेका थिए ।
नेपालको बारेमा भारतका प्रधानमन्त्री मोदी निकै चिन्तित रहेको बताउँदै नेता हर्षवर्धनले नेपाल–भारत बीचको सम्बन्ध अद्भुत रहेको बताए । नेपाल–भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल अझ समृद्ध होस् भनी कामना गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिए ।
नेता हर्षवर्द्धनले नेपाल र भारतको धार्मिक सांस्कृतिकसहितका हरेक कुरा मिल्ने बताउँदै नेपाललाई पशुपतिदेखि हिमालयसमम्को आशीर्वाद रहेको पनि उल्लेख गरे।