काठमाडौं । संसदमा लामो समयदेखि जारी अवरोध हटाउने पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने भएका छन्।
बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन्।
राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले देउवालाई बालकोट गएर संसदमा एमालेको अवरोध हटाउन पहलका लागि कुरा गर्न आग्रह गरिएको बताइन्।
बुधबार बालकोटमा भएको भेटबारे कांग्रेस नेता रामचन्द्र पौडेलले ब्रिफिङ गरेपछि देउवा बालकोट जान तयार भएका हुन्।
मैले चाहिँ यसरी संसदमा अवरोध राखेर हुँदैन। तपाईंहरुलाई पनि राम्रो हुँदैन, लोकतन्त्रलाई पनि राम्रो हुँदैन भनेँ, बालकोट भेटबारे पौडेलले बैठकमा भनेका थिए, अवरोध खुलाउनका लागि हामीले के गर्नुपर्छ ? बरु त्यसो गर्न तयार छौँ। अवरोध खुलाएर जाऊँ।
तर आफूसँगको भेटमा ओलीले पुरानै अडान राखेको पनि पौडेलले बताएका छन्।
यता बैठकमा सहभागी जनमोर्चा उपाध्यक्ष पौडेलले सर्वदलीय बैठकमा एमालेलाई उपस्थित हुन सहमत गराउने जिम्मा पनि देउवालाई दिइएको बताइन्।
‘सकेसम्म आज भोलि नै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुहुन्छ, उनले भनिन्, ओलीलाई भेट्न निवासमै जान आफू तयार रहेको देउवाले बैठकमा बताउनुभएको छ।’