काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार ग्रहण गर्दैछन्। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा पदभार गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अध्यक्ष केपी शर्मा ओली ज्यूले आज पार्टी कार्यालयमा पदभार ग्रहण गर्नुहुन्छ। दिउँसो १ बजे गर्ने कार्यक्रम तय भएको छ।’
एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका हुन्। ओलीले १,८३७ र रावलले २२३ मत प्राप्त गरेका थिए। उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याए।
यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।
वि.सं. २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए उनी, त्यही वर्ष उनी जेलसमेत परेका थिए।
ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।