नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो।
दक्षिणकाली नगरपालिकामा नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। त्यसैगरी चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ।
काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।
सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ। किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ।काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन्।
साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन्। कांग्रेसका यी दुई पक्षबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ। दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौंको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन्।
सिंह र थापा समूहबाट काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष रहेका पुराना नेता नीलकाजी शाक्य सभापति पदका उम्मेदवार छन् भने
देउवा ( सिटौला पक्षबाट तरूण दल काठमाडौंका संस्थापक अध्यक्ष रहेका प्रगतिमान रञ्जित सभापति पदका अर्का उम्मेदवार हुन्।
महानगरमा सभापतिका उम्मेदवार प्रगतिमानले पार्टी संगठन बलियो बनाउने बताए । उनले भने, ‘१५ वर्षसम्म महानगरमा चुनाव नहुँदा नेतृत्वविहीन अवस्था रह्यो। नेतृत्वको खडेरी पर्यो। सबैसँग समन्वय गर्दै म पुराना र नयाँ पुस्ताको साथ लिएर महानगरमा पार्टीको संगठन बलियो बनाउँछु।’
आफूलाई पूर्वमहामन्त्री सिंहले पनि समर्थन गरेको दाबी उनको थियो।
‘उहाँले मलाई समर्थन गर्नुहुन्छ। केन्द्रीय सभापति उठ्ने भनेको नेताले तल्लो तहमा हुने अधिवेशनमा धेरै चासो लिनुहुन्न होला। उहाँको समर्थनमा अर्को प्यानल बनेको भन्ने छ,’ उनले भने।
काठमाडौंमा हुने कांग्रेसको निर्वाचनमा पहिलेदेखि नै सिंह भर्सेस अरू नेता हुने गर्दथे। यसपालि प्रकाशमान र गगन एकैठाउँमा आइपुगे भने उनीहरूविरूद्ध अरू नेता एकजुट छन् ।
काठमाडौं देशको राजधानी भएकोले पनि यहाँको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रकाशमान सिंहबीचको शक्तिको परीक्षा हुने बुझिएको छ ।