काठमाडौं । कैलाली जिल्लामा नेकपा (माओवादी केन्द्र) सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीसँगको गठबन्धनबाट बाहिरिएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएको माओवादी केन्द्रले जिल्ला समन्वय समिति (जिसस) गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ । बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ ।
एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमतिअनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने जानकारी दिए ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जनाको आवश्यक पर्छ । यहाँ स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुखरउपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो ।