काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि आसन्न स्थानीय निर्वाचनमा एमालेले जित्न जरुरी रहेको बताएका छन् ।
ओलीले बिहीबार कैलालीको पूर्वी भेगमा पर्ने बर्दगोरिया गाउँपालिकाको बौनियामा आयोजित चुनावी सभामा बोल्दै विकास हुनको लागि देशमा एउटा बलियो पार्टी आवश्यक रहेको कुरा आफूले बुझेको बताए । ‘मैले त पार्टी एकीकृत गरेर पनि थाहा पाइसके, जोडजाड गरेर नहुँदो रहेछ, त्यसैले स्थानीय चुनावदेखि नै एमालेलाइ बलियो पार्टी बनाउन आवश्यक छ ।’
उनले एमाले देश बनाउन चाहने पार्टी भएको उल्लेख गर्दै हुलाकी सडक, पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने र रेल मार्ग थालनी गर्ने जस्ता काम एमाले सरकारले सुरु गरेको बताए । एमालेले, सुकुम्बासी, मुक्त हलिया तथा कमैयाका समस्या समाधान गर्न भूमि आयोग गठन गरेको ओलीले बताए ।