आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाले चुनावी सङकल्पपत्र सार्वजनिक गरेको छ । सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर भन्ने मूल नाराका साथ कांग्रेसले आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको हो । सङकल्प पत्रमा कांग्रेसले सडक तथा भौतिक पूर्वाधार, कृषि पशुपन्छी तथा सहकारी, शिक्षा, स्वास्थ्य, सार्वजनिक सुरक्षा, विपद ब्यवस्थापन, धर्म संस्कृति र परम्परा, सूचना तथा सञ्चार, सुशासन तथा जवाफदेहिता, युवा तथा खेलकुद, पर्यटन विकास, सामाजिक संघ संस्था, वातावरण तथा फोहोर ब्यवस्थापन, नीतिगत, कानुनी तथा संस्थागत विकास, उद्यमशीलता र रोजगार, सामाजिक न्याय जस्ता विषयमा आफ्नो पार्टीको धारणा ब्यक्त गरेको छ ।
यस्तो छ चुनावी सङकल्प
कांग्रेसले विगत पाँच वर्षमा नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवा प्रभावकारी हुन नसकेको, बाढी पहिरो, कोरोना महामारीमा नेतृत्वले उल्लेखनीय काम गर्न नसकेको उल्लेख गरेको छ ।
सडक तथा पूर्वाधार निर्माणमा बाँकी रहेका वडा कार्यालयहरुको निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ भने पाँच वर्षमा नगरपालिकाबाट हरेक वडासम्म जाने सडकमा कालोपत्रे गर्ने उल्लेख गरेको छ ।
भोटेकाशी र सुनकोशी नदी नियन्त्रणका लागि करिडोर निर्माण गर्ने भनिएको छ । यसैगरी कृषि सहकारी शीर्षकमा रासायनिक मलको सुनिश्चितता गरिने, वैज्ञानिक र ब्यावसायिक कृषि उत्पादनमा जोड दिने लगायका विषयलाई समेटेको छ भने शिक्षामा कक्षा १२ सम्मको शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्ने, पढाई र सिकाईलाई सीप विकाससँग जोडिने, नगरमा एक आवासीय प्राविधिक विद्यालयको ब्यवस्था गर्ने जस्ता कुराहरु समावेश गरिएको छ । स्वास्थ्य क्षेत्रमा नगरपालिकामा सुविधा सम्पन्न अस्पताल सञ्चालन निःशुल्क स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्ने उसको प्रस्तावमा उल्लेख गरेको छ । यसैगरी सामाजिक सुरक्षामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नियमित स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाउने, दीर्घरोगीलाई नियमित उपचार गर्ने वातावरण मिलाउने, तथा गरिव असहाय बृद्धहरुको लागि आवासको प्रबन्ध गर्ने लगायतका बुँदा समेटिएका छन् ।
सङकल्प पस्तावमा कांग्रेसले विपद ब्यवस्थापनलाई पनि समेटेको छ । जसमा जुरे पहिरो, जम्बु पहिरो र नागपुजे पहिरो पिडितहरुको उचित ब्यवस्थापन गरिने उल्लेख छ । यसैगरी धर्म संस्कृति र परम्परा शीर्षकमा सामुहिक एकताको पूर्वाधार हाम्रो साझा नगर निर्माणको आधार भन्ने कार्यक्रम सञ्चालन गर्ने, ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मठ मन्दिर, गुम्बा, चर्चको संरक्षण गर्ने प्रतिवद्धता गरेको छ । सुचना तथा सञ्चारमा सहकार्य र साझेदारीको आधार प्रभावकारी सूचना र सञ्चार नीति अबलम्बन गर्ने, नगरपालिकाको आफ्नै मोबाइल एप मार्फत सबै सूचना प्राप्त गर्ने तथा आवश्यकता अनुसार सल्लाह सुझाव, गुनासो गर्ने ब्यवस्था मिलाइने लगायतका बुँदाहरु राखिएको छ । यस्तै सुशासन र जवाफदेहितामा नगरको ज्ञान विकास र सुशासन हाम्रो जिम्मेवारी हने, नियमित जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । युवा तथा खेलकुद विषयमा विकास निर्माणका काममा युवालाई प्राथमिकता दिने, एक वडा एक खेल मैदान को िविकास गरिने बुँदा छन् । सामाजिक संघ संस्थामा अनुदान दाताको कार्यक्रम हाम्रो नीति अबलम्बन गर्ने, गैरसरकारी संस्थाहरुलाई नगरमा आवद्ध भएपछि मात्रै कार्यक्रम गर्न पाउने ब्यवस्था गर्ने लगायतका कुरा छन् ।
वातावरण तथा फोहोर ब्यवस्थापनमा राम्रो रहर सफा बाह्रबिसे शहर कार्यक्रम लागू गर्ने । त्यस्तै नीतिगत कानुनी र संस्थागत विकासमा स्थानीय सरकार प्रभावकारी रुपमा सञ्चालन गर्न विद्यमान अब्यवहारिक तथा अलोकतान्त्रिक नीति नियमलाई परिमार्जन गर्ने उल्लेख छ भने उद्यमशीलता र रोजगारमा स्थानीय स्रोत र साधनको प्रयोग गरी साना उद्यम विकास कार्यक्रम लागू गरिने कुरा राखिएको छ ।







