काठमाडौं । केपी शर्मा ओलीको संसद विघटन निर्णयविरूद्ध माधव नेपालको पक्षमा लागेका र पार्टी फुटपछि उनको साथ छाडेर फेरि ओलीतिरै फर्केका एमाले नेताहरूले जारी दसौं महाधिवेशनमा सर्वाधिक भोट ल्याएका छन्।
पदाधिकारीका तीनवटा पदका लागि भएको निर्वाचनमा उपाध्यक्षतर्फ अष्टलक्ष्मी शाक्यले सबभन्दा बढी १ हजार ९ सय ७६ मत ल्याएकी छन्। उनी एमालेकी पुराना नेतामध्ये एक हुन्। विगतमा माधव नेपाल समूहमा रहँदै आएकी शाक्यलाई ओलीले आफ्नो पक्षमा ल्याएर बागमती प्रदेशको मुख्यमन्त्री बनाएका थिए। उनी दुई महिना मुख्यमन्त्री रहेकी थिइन्।
एमालेमा अहिले भएका महिला नेतामध्ये उनी सम्भवतस् सबभन्दा सिनियर हुन्। नवौं महाधिवेशनमा पनि उनी माधव नेपाल समूहबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
उपाध्यक्षतर्फ दोस्रो बढी मत ल्याउने सुरेन्द्र पाण्डे पनि माधव नेपालको पक्षमा लागेर पार्टी फुटेपछि ओलीतिर आएका नेता हुन्। उनले पाएको मत १ हजार ९ सय २५ छ।
शाक्य र पाण्डेले पाएको मत सुरूदेखि ओली समूहमा रहेका र उनका विश्वासपात्र भनी चिनिएका विष्णु पौडेल र सुवास नेम्वाङभन्दा बढी हो। विष्णु पौडेलले १८५६ र सुवास नेम्वाङले १८६५ मत पाएका छन्।
उपाध्यक्ष जित्नेमा युवराज ज्ञवालीको मत १८४२ छ भने सबभन्दा कम मत माओवादीबाट एमालेतिर आएका रामबहादुर थापाको छ। थापाले १७६८ मत ल्याएका छन्।