काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिमै नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।
माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।
आकांक्षीहरु बढेका र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो । त्यसपछि सहमतिको प्रयास भए पनि आकांक्षीहरु पछि नहट्दा समस्या ज्युँकोत्यू रहेको थियो । सुरुमा प्रदेश १ को अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए ।