काठमाडौं । काठमाडौंको माइतीघरमा भोलि शुक्रबार संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले वृहत प्रदर्शन गर्ने भएको छ । मोर्चाले आफ्ना मागलाई जनतामाझ पुर्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले बताए ।
लुइटेलले मोर्चाले जनताको पक्षमा सधैं आवाज उठाइरहेकोले सबैको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् । ‘देश संकटमा परेको बेला कोही न कोहीले नेतृत्व लिनुपर्छ भनेर म अघि बढेको हुँ’ उनले भने ‘हामीले उठाएका माग देश र जनताको पक्षमा छ, जसले बुझेको छ उसको राम्रो समर्थन पाउँछौं ।’ गत भदौमा स्थापना गरिएको मोर्चाले पटक पटक विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘यो देशलाई यत्तिकै छोडिदिने हो भनें देश बर्बाद हुन्छ त्यसैले पनि देश बचाउने कार्यक्रम हो यो’ लुइटेलले भने ‘मोर्चामा विभिन्न संघसंस्था र समूहको संलग्नता रहेको छ, सुरुका दिनमा जुन लक्ष्य लिएका थियौं हामी क्रमशः अघि बढिरहेका छौं ।’
मोर्चाले आगामी दिनमा प्रदेश र जिल्ला समिति पनि गठन गर्ने जनाएको छ । मोर्चाले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य र अखण्ड नेपाललाई प्रमुख एजेण्डा बनाएको छ । लुइटेलले दलहरु देश र जनताको हितमा केन्द्रित हुन नसकेकाले राष्ट्रियताको रक्षाको लागि आफूहरु एकजुट हुनुपरेको जनाएका छन् । मोर्चाले महँगी, भ्रष्टाचार, बेथितिको बारेमा पनि आवाज उठाउँदै आएको छ ।
महँगीले जनता आक्रान्त भइरहेको बेला सरकारले अनुगमन गर्नुको सट्टा कालाबजारी गर्नेलाई प्रोत्साहन गरेको लुइटेलको आरोप छ । ‘अब राजनीतिभन्दा माथि उठेर सबै एकजुट भएनौं भने देश बचाउन सकिँदैन’ उनले भने ‘ देशको रक्षाको लागि सबैले व्यक्तिगत र पार्टीगत भावना छोडेर राष्ट्रिय आन्दोलनमा सहभागिता जनाउनुको विकल्प छैन ।’