काठमाडौं। निकै रस्साकस्सीका बीच नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबार रातभर बैठक बसेर आज बिहान ५ बजे मात्रै उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।
यसरी उम्मेदवार हुनेहरुमा कोशीमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटा रहेका छन् ।
त्यस्तै कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लागेको छ ।
१० जना मध्य ४ जना आफ्नो पक्षको हुनु पर्ने बताउँदै आएको शेखर कोइराला र गगन थापा पक्षले ३ जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।