काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग संसदको अवरोध हटाउन आग्रह गरेका छन्।
बुधबार ओली निवास बालकोट पुगेर नेता पौडेलले निकासका लागि आग्रह गरेका हुन्। मालेले लामो समयदेखि संसद बैठक अवरोध गर्दै आएको छ।
सत्तारुढ पाँच दलीय गठबन्धनको संयोजकसमेत रहेका पौडेलले ओलीसँग करिब एक घण्टा छलफल गरेका थिए।
‘मुलुक ठप्प भयो। आर्थिक गतिविधि लगायत संसद, न्यायालय ठप्प हुँदा राम्रो सन्देश गएको छैन। यतिका वर्ष संघर्ष गर्यौँ। उपलब्धी दिनु प¥यो । पौडेलको भनाई उदृत गर्दै बालकोट स्रोतले भन्यो, ‘उपलब्धी दिन चुक्यौँ भने जनतामा राजनीतिप्रति घृणा उत्पन्न हुन्छ। घृणा उत्पन्न हुन नदिन निकास दिऊँ।’
जवाफमा ओलीले पुरानै अडान दोहोर्याएका थिए। उनले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती गरेको भन्दै सभामुखलाई नै हटाउनुपर्ने बताए।
निकासका लागि माधव नेपाल लगायत १४ सांसदलाई कारबाही गर्नुपर्नेमा उनको जोड थियो।
पौडेलले सभामुख हटाउने भए प्रक्रियामा जानुपर्ने बताए। तर देशलाई अनिर्णयको बन्दी बन्न दिन नहुनेमा उनले जोड दिए।
‘सभामुख हटाउने भए पनि प्रक्रियामा जान पर्छ। प्रकृया अघि बढाउनुहोस्’ पौडेलले भने,‘प्रधानमन्त्रीसँग छलफल गर्नुस्। देशलाई अनिर्णयको बन्दी नबनाउनुस्। डेडलक गर्न हुन्न।’