काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका नेता लेलिनको १५२ औं जन्मजयन्तीका अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश दिएका छन् । सन्देशमार्फत उनले अग्रगमनका लागि भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रहसमेत गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्–प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपिल गर्दछु ।