काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विदेशी शक्तिहरू अहिलेको सरकारमा रहेका दलहरूको गठबन्धनलाई फुटाउन लागिपरेको दाबी गरेका छन्।
उनले संविधानलाई कुल्चिएर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजेको आरोप लगाए।
माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै महराले विदेशी शक्तिले गठबन्धन फुटाउन खोजे पनि सफल नहुने बताए।
उनले सत्ता गठबन्धनबाट धेरै कुरा प्राप्त हुन्छ भन्ने अपेक्षा गर्न नसकिए पनि संविधानलाई सही ट्रयाकमा ल्याउन बनेको गठबन्धनलाई टिकाइ राख्नुपर्ने बताए।
‘संवैधानिक कदमलाई बचाइराख्न गठबन्धन बनेकोले धेरै अपेक्षा पूरा गर्न सकिन्छ भन्ने नभए पनि गठबन्धनलाई टिकाइराख्नु जरूरी छ,’ उनले भने।
प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहेका महराले अहिले नेपालका राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भएको बताए।
‘एउटा समूह संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा लागेको छ भने अर्को ध्रुव राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धिलाई उल्टाउने अभियानमा लागेको छ,’ उनले भने।
महराले अहिले देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको भन्दै माओवादी विभाजित नभई पूर्वमाओवादीबाट छुट्टिएका दलहरूलाई पनि एकजुट बनाउने प्रयास भइरहेको बताए।
माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्य र एकताको लागि छलफल भइरहेको उनले बताए।