काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाल प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् ।
आइतबार बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं आएको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापन पत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् ।
देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।
निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको योजना सरकारको छ । तर सर्वोच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ । यद्यपि परमादेशको संक्षिप्त वा पूर्ण पाठ आई नसकेकाले अन्यौल कायमै छ ।