काठमाडौं । नेकपा ( एकीकृत समाजवादी) बाट पोखरा महानगरपालिकामा निर्वाचित भएका मेयर धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन्।
आज (बुधबार) बिहान मेयरमा निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताए। उनले ने, ‘हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।’
पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पारे । पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइने उनले बताए।