काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको थियो भन्ने पुष्टि भएको दाबी गरेका छन् ।
सोमबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सेटिङमा परमादेश आएको थियो भन्ने कुरा अहिले आफू आफूमै पोल खोलाखोल गरेर पुष्टि गरिरहेको बताए ।
ओलीले भने, ‘न्यायाधीशज्यूहरू अहिले आफैं भन्दै हुनुहुन्छ । सेटिङ रहेछ उहाँहरूबीच । कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के(के लेनदेन भयो अझै खुल्न बाँकी छ ।’
ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने नयाँ नजिर स्थापित भएको भन्दै यसको फल भोलि सबैले भोग्नुपर्ने चेतावनी समेत दिए ।