काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक अवस्थालाई सन्तुलनमा राखेर व्यापार घाटा कम हुनेगरी नीति र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले बैठकमा भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहास् । ’
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिए । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकारका कार्यालयहरूलाई नीति तय गर्न पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलोलगायतको प्रयोग बढाउन पनि आग्रह गरे ।
‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’