काठमाडौं । राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय वीरगञ्जका मालपाृत अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुदा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरुमाथि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गराएको हो ।
भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा मालपोत कार्यालय, वीरगञ्जका मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्विवेदी ब्राह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नायब सुब्बा रामेश्वरप्रसाद साह र नायब सुब्बा लेखनाथ भट्टराई छन्।
रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्कन भन्दा कम मूल्य राखी राजश्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा राजश्व हिनामिना गरेको पुष्टि भएपछि उनीहरु बिरुद्ध मुदा दायर गराइएको अख्तियारका प्रबक्ता भोला दाहालले जानकारी दिए ।


