काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग टेलिफोन संवाद गरेका छन् ।
अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए ।
ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’ एमाले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेपालसँग अध्यक्ष ओलीको लामो समयदेखि कुराकानी गरेका थिएनन् ।


