काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्दा आइपर्ने जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका छन् ।
उनले शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको बताए । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरू र भुटानी शरणार्थीहरूका रुपमा नेपालीहरूलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको धारणा राखे । लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए ।


