काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको भत्ता कटौती गर्न किन सक्नुभएन भनी प्रश्न गरेका छन् ।
नेता पौडेलले आइतबार आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमाथि छलफलमा भाग लिँदै हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिद्युत निशुल्क गर्ने नीति तथा कार्यक्रमबाट बजेट पछि हटेको बताए । पौडेलले समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द प्रयोग गर्न समेत अर्थमन्त्री डराएको आरोप लगाए ।
सरकारको सिद्धान्त र प्राथमकितासँग बजेटको सम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नरहने बताए । पौडेलले केपी ओली नेतृत्वको सरकारका पालामा लय लिएको अर्थतन्त्रलाई लगातार कमजोर बनाउने काम भएको भन्दै अर्थतन्त्रका समस्या चिन्नसमेत बजेट असफल भएको बताए ।
पूर्वमन्त्री पौडेलले सस्तो लागत र उच्च प्रतिफल दिने भनेर विगतमा नेपाल आफैँले बनाउने भनेको फुकोट कर्णाली जलविद्युत आयोजना भारतलाई किन दिइयो भन्ने प्रश्न उठाउँदै तल्लो अरुणबाट २५ प्रतिशतमात्र बिजुली पाउने गरी भारतलाई दिइएकोमा सरकारमाथि प्रश्न उठाए ।


