काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे सरकारमा जुनसुकै वेला पनि सहभागी हुन सक्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले आज संसद् भवनमा एमाले सांसदहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताएका हुन्।
शक्ति पृथकीकरणको सिद्धान्त सरकारले बुझ्न नसकेको टिप्पणी पनि उनले गरे। अध्यक्ष ओलीले अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणीसमेत गरे।
अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उनले भने, ‘अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ।’
उनले देशको अर्थतन्त्रसम्बन्धमा सरोकारवाला पक्ष कसैसँग परामर्शसमेत नगरेको आरोप अर्थमन्त्री डा प्रकाशशरण महतमाथि लगाए। अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ।


