पोखरा । पर्यटकीय सहर पोखरामा बिहीबारदेखि २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ। । पञ्चेबाजा, भजन, नाचगानसहित र्याली महोत्सवस्थल ३ किमी दुरी पार गर्दै कोमागाने पार्कमा आयोजित उद्घाटन समारोहमा परिणत भएको हो। २५ वर्षअघि फुड फेस्टिभलबाट सुुरु यो महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो।
महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दीयो बालेर तथा बेलुन उडाएर समुद्घाटन गरे।
उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताउँदै त्यसका लागि आफूले केन्द्रीय सरकारसँग लगातार समन्मय गरिरहेको उल्लेख गर्दै आगामी केही समयभित्रै यसले सार्थकता पाउने विश्वास ब्यक्त गरे । विदेशी मुद्राको आर्जनका लागि उपयुक्त माध्यय नै पर्यटन ब्यवसाय रहेको बताउँदै रेवानले आयोजना गरेको सडक महोत्सबले पोखरालाई देश विदेशमा चिनाउन थप मद्धत गरेको बताए ।

समारोहमा रेवानका केन्द्रीय कार्यवाहक अध्यक्ष संघर्ष विष्टले नेपालको प्रमुख आर्थिक स्रोतको रुपमा रहेको पर्यटन ब्यावसायलाई सरकारले सहयोग गर्नुपर्ने बताए । कोभिडले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख कुरा नै पर्यटन भएकाले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले रेवान पोखराले २५ औं वर्षसम्म महोत्सव आयोजना गर्नु निकै महत्वपूर्ण उपलब्धि रहेको बताउँदै नेपाल पर्यटन बोर्डले नाम अनुसारको पर्यटनलाई टेवा पुग्ने खालका केही पनि काम नगरेको भन्दै आलोचना गरे ।

२५ औं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए। उनले फेवातालबारे अदालतले गरेको फैसलाले यहाँका स्थानीयलाई धेरै ठूलो क्षति हुने बताए । यसबाट यो वा त्यो नाममा ११ सय संरचनाहरु भत्किने भएकाले यसतर्फ महानगरको ध्यान जान जरुरी भएको बताए । उनले साहहिक पर्यटन पाराग्लाइडिङ नचल्दा धक्का लागेको बताउँदै यस महोत्सव अवधिभरि भए पनि त्यसलाई चल्न दिनुपर्नेमा जोड दिए ।


