काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवन रुपान्तरण गर्न आध्यात्मिक पनि आवश्यक हुने बताएका छन् ।
उनले आज लुम्बिनीमा संचालित विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘नागरिकलाई सबल, शान्तिप्रेमी र ऊर्जाशील बनाउन मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले यस्तो रुपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रुपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी, वैज्ञानिक आध्यात्मिक राज्यको खाँचो रहेको बताए।


