काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले ऐक्यबद्धता जनाएको छ । शनिबार बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्नास्थलमा पुगेर समर्थन जनाएको हो ।
धर्नास्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष, अन्य पदाधिकारी, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको समूहसमेत ऐक्यबद्धताका लागि पुगेका थिए ।
आफ्ना मागसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा निर्देशन समितिका अध्यक्ष डा। लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताएको राप्रपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


