काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटप्रति तीब्र असन्तुष्टि जनाउँदै आएका एकीकृतका सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राख्दै आएका छन् । उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनीसमेत दिइसकेका छन् ।
उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् । अध्यक्ष नेपालले समेत बजेट नेताकेन्द्री भएको आरोप लगाउँदै आएका छन् । सत्तारुढ दलबाटै बजेटको विरोध हुनुले सरकारलाई बजेट पास गर्न थप सकस हुने देखिएको छ । बैठकमा बजेटलाई जस्ताको तस्तै पास गर्ने वा नगर्ने विषयमा निर्णय हुने बुझिएको छ ।


