काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ।
विहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
पदाधिकारी बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठे पनि खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष आजको बैठकले निकालेको हो।
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन। निर्दोष पर्न हुन्न,’ बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने। कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताए।


