काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियनले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते तथा मृतकका परिवारलाई ११ लाख ११ हजार ११ रुपैयाँ सहयोग गर्ने भएको छ।
भूकम्पमा परी घाइते तथा मृतकका परिवारहरुलाई सहयोगका लागि नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक हजारका दरले सहयोग रकम संकलन गर्ने नेपाल निजामतीकर्मचारी युनियनका केन्द्रिय उपमहासचिव इन्दु शर्माले जानकारी दिए ।
युनियनले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरोलगायतका विपत्तिमा मानवीय सहायता प्रदान गर्दै आएको छ। उपमहासचिव शर्माले पश्चिम नेपालका नेपाली दाजुभाइले भोग्नुपरेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने पनि बताए।
“ गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,” शर्माले भने, “दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।”


