काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो चीन भ्रमणमा क्रममा उसले गत २१ अगस्टमा जारी गरेको नक्साबारे प्रस्टसँग कुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले आइतबार असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग सिंहदरबारमा आयोजित बैठकमा यस्तो बताएका हुन्।
बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए। उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन्।
‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’


