काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको दावी गरेका छन् ।
उनले आइतबार प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै भने, “मेरो चीन भ्रमण चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । कोभिड–१९ महमामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई सुदृढ गरेको छ । ”
भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए । “चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातयात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्ने मैले राखेको धारणाप्रति उहाँहरुले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो”, प्रधानमन्त्री दाहालले भने ।


