काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको रहेको बताएका छन् । उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै यस्तो बताएका हुन् ।
उनले दुधकोशी, तमोर र बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू नै स्वदेशी लगानीमा बनाउने प्रबन्ध गर्न माग गरेका छन् । ‘अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु,’ उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’


