काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारसँग निर्वाचन आयोगका जिल्ला कार्यालयहरु खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा यस्तो माग गरेका हुन् ।
‘सरकारले हुलमुलमा आयोगहरु कटौती गर्दै गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ यथेस्ट ध्यान पुर्याएन भन्ने मलाई लाग्छ,’ थापाले भने, ‘त्यसैले आफूले गरको गल्तीलाई समयमै सच्यायो भने त्यो गल्तीको दुष्प्रभाव हामीले ब्यहोर्नु पर्दैन। निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका निम्ति म नेपाल सरकारसँग माग गर्दछु।’
सरकारले प्रस्तावित बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर उसले सम्पादन गर्दै आएको काम जिल्ला प्रशासन कार्यालयमा सार्ने प्रस्ताव गरेको छ। निर्वाचन आयोगको भूमिकालाई संकुचित पर्ने काम गरिए निर्वाचनको निष्पक्षता प्रभावित हुने उनको भनाइ छ।


