काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेलेको सरकारलाई तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे पनि छानबिन गर्न चेतावनी दिएका छन् ।
उनले सोमबार पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रमाथि घात हुने खालको नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुले बदमासी गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले यस अपराधमा संलग्नहरु भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको भन्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका थिए ।
सबै सचेत हुनुपर्छ । नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीहरुको सन्दर्भमा, उनीहरुको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदलभित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रुपका प्रमाणिकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने दुरुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाँची गरिकन नयाँ व्यक्तिहरुको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको सुरुवात भयो भन्ने कुरा स्पष्ट छ,ु महासचिव पोखरेलले भने ।


