काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।
अध्यक्ष नेपालले शनिबार पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।
सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो ।


