काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् ।
एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् ।
राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले शपथ लिएका छन् ।
त्यस्तै एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन् ।
त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षामन्त्री, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।


