काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बुझिएको छ ।
यसअघि प्रचण्ड र भट्टराईबीच बिहीबार साँझ नै भेटवार्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्री प्रचण्ड भेट्न भट्टराई शुक्रबार बिहान बालुवाटार पुगेका हुन्।
समाजवादी मोर्चाका योजनाकार भट्टराई पछिल्ला दिन संख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको संगठन विस्तारमा लागेका थिए। उनले गोरखाबाट ६ महिने संगठन सुदृढीकरण र विस्तारको घोषणा गरेका थिए।


