काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकले सबैभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
मन्त्री महतले आज राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई स्म्बोधन गर्दै यस्तो बताएका हुन् । मन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको भन्दै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । आवश्यकता अनुसार खर्च गर्न स्रोत साधन निकै कम रहेको अवस्थामा खर्चको प्राथमिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री महतले आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने धारणा राखे । उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै अव निराश हुनुपर्ने अवस्था नदेखिएको बताए ।


