तातोपानी । जिल्लाको उत्तरी भेगमा पर्ने भोटेकोशी गाउँपालिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा दत्तचित्त भएर लागेको छ। गाउँपालिकाले गत वर्षको आधारभूत तह कक्षा आठसम्म र एसईईको नतिजा सन्तोषजनक नदेखिए पछि शैक्षिक क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको हो।
पालिका प्रमुख पासाङ नुर्पु शेर्पाले नीति कार्यक्रम र बजेटमा शिक्षालाई जोड दिई शैक्षिक विकास र गुणस्तर सुधारमा जुटेको बताए ।
विद्यालयलाई श्रम र कृषिसँग जोडी विद्यालयको दिवा खाजालाई समेत टेवा दिने उदेश्यका साथ विद्यालय टनेल कार्यक्रम, स्काउट कार्यक्रम, प्रधानाध्यापकहरुलाई नमुना विद्यालयहरुको अवलोकन भ्रमण ,प्रअ भत्ताको वृद्धि, दरबन्दी मिलान, एसईईका विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन तथा छात्रवृत्तिको प्रभावकारी र न्यायोचित वितरण गर्दै आएको उनले बताए ।
भोटेकोशीले गाउँकै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने लक्ष्य लिएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले पालिकाको यस्तो लक्ष्यलाई पुरा गर्न सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुने उनको धारणा छ ।

यसैबीच भोटेकोशी गाउँपालिकाले एसईईमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयका प्रअलाई पुरस्कृत गरेको छ। गाउँपालिकाबाट एसईईमा उत्कृष्ट हुने विद्यार्थी निमपासाङ शेर्पालाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ भने प्रअ भक्तबहादुर लामालाई समेत सम्मान पत्र प्रदान गरेको छ।
शिक्षक महासंघ भोटेकोशीको अध्यक्ष समेत रहेका प्रअ भक्तबहादुर लामाले गाउँपालिकाको यस किसिमको कार्यले झन् जिम्मेवारी थपिएको बताए । यस्तै कक्षा १२ तर्फको उत्कृष्ट नतिजा ल्याउने बुद्धमाया श्रेष्ठलाई नगद सहित प्रमाणपत्र र प्रअ कमला लामालाई पनि सम्मान पत्र प्रदान गरेको छ।
पालिका प्रमुख शेर्पाले गत वर्षको बाल दिवसको अवसरमा एसईईमा उत्कृष्ट हुने विद्यार्थी र सम्बन्धित विद्यालयका प्रअलाई नगद पुरस्कार सहित सम्मान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ५९ औं बाल दिवशको अवसरमा तातोपानी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।


