काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । उनले बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिर गए पनि पछिल्लो समय पार्टीमै आउन थालेको दावी गरे ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।
उनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पारे ।


