काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क जाँदै छन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स् २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ ।
प्रधानमन्त्री दाहाल महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् ।
न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


