काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निःशुल्क शय्या उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् ।
मन्त्री बस्नेतले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, सहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या निःशुल्क उपलब्ध गराउने बताए । योसँगै उनले अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने सहमति गरेका कारण गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
अस्पतलाहरुलाई चेतावनी दिँदै मन्त्री बस्नेतले निःशुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न नदिने र उनीहरूको सेवा नवीकरण गर्न नदिने पनि बताए । सरकारले घोषणा गरेअनुसार निःशुल्क शय्या नदिने अस्पतालको अनुगमन गरेर कारबाही गर्ने चेतावनी पनि मन्त्री बस्नेतको थियो । सङ्घीय सरकार मातहत रहेका अस्पतालमा पनि निःशुल्क शय्या उपलब्ध गराउनेबारे छलफल भइरहेको र प्रदेश सरकार मातहत अस्पतालमा पनि यो सेवाका सुरू गर्नेबारे छलफल अघि बढेको जानकारी बस्नेतले दिए ।


