काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् ।
उनले शनिबार वीरगञ्जमा अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको बताए।
‘कहिले जातजातिका नाममा त कहिले भाषाभाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ’, उनले भने, ‘सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, यसले सामाजिक एकतालाई भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।’
राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताए ।


