काठमाडौं । आजदेखि नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण काठमाडौंमा सुरु हुँदै छ। नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपालले सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ।
सम्मेलनमा यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधा पहिचान हुनेछ। पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने, हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ।
सम्मेलनको थिम विकासका लागि पूर्वाधार रहेको छ। कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य छ। नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम सर्त हो भन्ने आत्मसात् गरेको छ। यस्तै सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्नेछ।


