काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।
उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानबिन गरिँदैछ भनि पत्र लेखेको हो स्पष्ट पार्न माग गरे ।


