काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काम गरेर देखाउनेलाई मात्रै मत दिनुपर्ने बताएका छन् । मन्त्री बस्नेतले शनिबार सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘६ महिना सञ्चार मन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ, अहिले स्वास्थ्य मन्त्री छु, ३९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदैछन्, अर्को वर्ष सबै निर्माण सम्पन्न हुनेछन्।’
उहाँले चुनावको वेलामा राजनीति गर्ने हो भन्नुहुँदै सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्छ भन्नेमा जोड दिए । उनले विगतमा जितेका जनप्रतिनिधिहरुको ध्यान २०७२ को भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्ने तीर नभएकोले अहिलेसम्म पुनःनिर्माण हुन नसकेको बताए ।

‘निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माण गर्न ध्यान दिन्छौं भनेको थियौं, त्यही अनुसार १० लाख बजेट विनियोजन भइसकेको छ, २० लाख विनियोजन हुनेक्रममा छ। हामी प्रयास गर्छौं, तपाईंहरुले व्यक्तिगत दातासंग भन्नुभयो भनेपनि धेरै पैसा उठ्छ ’उनले भने ।



