काठमाडौं । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।
आज बिहान करिब ४ बजे लु२ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा परेर ३० जनाभन्दा बढी घाइते भएका छन्। ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ,’ उनले भने।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य अहिले पनि जारी छ।


