काठमाडौं । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रेक थ्रुको उद्घाटन गरेका हुन् ।
दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गको उद्घाटन आज भएको हो। अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ।
यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो। तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो।
स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो। यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो। यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ।
२२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ।


