काठमाडौं । नेकपा (एमालेका) सांसद योगेश भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्न नहुने बताएका छन् ।
उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै थला पर्न लागेको निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।
उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए । उनले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए ।
उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए । उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए ।


