काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दै छ ।
यसअघि आइतबार कार्यदलको बैठक बसे पनि छानबिन समितिको क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा निष्कर्षविहीन भएको थियो। पहिले गरेको सहमतिबमोजिम क्षेत्राधिकार तोक्न प्रमुख प्रतिपक्षी कांग्रेस राजी नहुँदा सहमति हुन नसकेको हो।
सत्तापक्षले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिई संकटग्रस्त सहकारीसहित समग्रको छानबिन गर्नुपर्ने क्षेत्राधिकार तोक्नपर्ने अडान राखेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा रास्वपाबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसबाट सांसद जीवन परियार र नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला छन्।